रञ्जिता भन्छिन्–‘जन्मकैदको कसुरदार भएकाले रेशम चौधरी कुनै दलको सदस्य बन्न योग्य छैनन्’

रञ्जिता भन्छिन्–‘जन्मकैदको कसुरदार भएकाले रेशम चौधरी कुनै दलको सदस्य बन्न योग्य छैनन्’

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की संस्थापक अध्यक्ष एवं पूर्वमन्त्री रञ्जिता श्रेष्ठले रेशम चौधरी पार्टीको साधारण सदस्य समेत बन्न नसक्ने जिकिर गरेकी छन् । पार्टीको विधानमा ‘जेलमा गएर सदस्यता दिने अवस्था नरहेको’ भन्दै उनले रेशम चौधरीलाई पार्टीबाट सदस्य नबनाइएको दाबी गरेकी छन् ।

आफू विरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दामा लिखित जवाफ पेस गर्दै श्रेष्ठले पार्टीको विधानमा ‘नैतिक पतन देखिने अभियोगमा दोषी ठहर भएको व्यक्ति पार्टीको सदस्य हुन नसक्ने’ व्यवस्था रहेको भन्दै रेशम चौधरीलाई पनि नागरिक उन्मुक्ति पार्टीको सदस्य बन्ने सुविधा नभएको दाबी गरेकी छन् ।

पार्टीभित्रको विवाद अदालतसम्म

थरुहट आन्दोलनका क्रममा एक नाबालक, एसएसपी लक्ष्मण न्यौपाने सहित ८ जनाको ज्यान जानेगरी भएको टिकापुर घटनापछि रेशम चौधरी भूमिगत भए । पछि उनी २०७४ सालको निर्वाचन लडेर सांसद समेत बने, तर टिकापुर घटनामा पक्राउ परेर कारागारमा भएकाले सांसदको रुपमा काम गर्न पाएनन् ।

थुनामै रहेका रेशम चौधरीलाई संरक्षण बनाएर उनकी पत्नी रञ्जिता श्रेष्ठले नागरिक उन्मुक्ति पार्टी खोलिन् । चार जना सांसद जितेको नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रञ्जिता श्रेष्ठलाई भूमिसुधार मन्त्री समेत बनाएको थियो ।

नागरिक उन्मुक्ति पार्टी सरकारमा गएपछि गत जेठमा सरकारले थुनामा रहेका रेशम चौधरीलाई आममाफी दियो र उनी थुनामुक्त भए । उनी कारागारमुक्त भएदेखि नै सुरु भएको रञ्जिता श्रेष्ठसँगको मनमुटाव महाधिवेशका क्रममा छताछुल्ल भएको हो ।