एमसीसीमा चीनको चासो : डोनाल्ड लुको भ्रमणपछि चिनियाँ उच्चस्तरीय टोली काठमाडौं आउने

एमसीसीमा चीनको चासो : डोनाल्ड लुको भ्रमणपछि चिनियाँ उच्चस्तरीय टोली काठमाडौं आउने
फाईल तस्वीर

काठमाडौं । अमेरिकी विदेश सहायकमन्त्री डोनाल्ड लु नेपाल भ्रमणबाट फर्केपछि उच्चस्तरीय चिनियाँ प्रतिनिधि नेपाल भ्रमणमा आउने भएका छन् । लुको नेपाल भ्रमण सकिएको अर्को साता चिनियाँ प्रतिनिधिमण्डल काठमाडौं आउन लागेको हो । लुको नेपाल भ्रमण यसै साता हुने बताइएको छ । केही घण्टाका लागि नेपाल आउन लागेका लुको भ्रमण सार्वजनिक भएपछि चिनियाँ कम्युनिष्ट पार्टीको उच्चस्तरीय भ्रमण हुन लागेको हो । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का पोलिटब्युरो सदस्य युआन जुयान ७ साउनमा नेपाल भ्रमणमा आउँदैछन् । उनी जोङ्किङ शहरको प्रतिनिधिमण्डलको नेतृत्व गरेर आउन लागेका हुन् । 

नेपाल भ्रमणका क्रममा चिनियाँ प्रतिनिधिमण्डलले उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने कार्यक्रम छ । साथै, नेपाल र चीनको विकास साझेदारीका विषयमा पनि छलफल गर्ने कार्यक्रम छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीनको भ्रमणको पूर्वसन्ध्यामा युआनको भ्रमण हुन लागेको छ । त्यसैले पनि यो प्रतिनिधिमण्डलको भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ । पछिल्ला दिनमा अमेरिकी र चिनियाँ प्रतिनिधिहरूको नेपाल भ्रमण निकै बाक्लो भएको छ । चिनियाँ प्रतिनिधिमण्डल काठमाडौंबाट फर्केपछि अमेरिकी सहायता परियोजना (एमसीसी) का प्रमुख कार्यकारी अधिकृत एलिस बी अलब्राइट काठमाडौं आउने कार्यक्रम छ ।