मोरक्कोमा ६.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प, २ सय ९६ जनाको मृत्यु

मोरक्कोमा ६.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प, २ सय ९६ जनाको मृत्यु
फाईल तस्वीर

काठमाडौं । मध्य मोरक्कोमा ६.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा २९६ जनाको ज्यान गएको त्यहाँको गृह मन्त्रालयले जनाएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणले भूकम्पको केन्द्रविन्दु माराकेशबाट ७१ किलोमिटर (४४ माइल) दक्षिणपश्चिममा उच्च एटलस पर्वतमा रहेको बताएको छ । यसको केन्द्र जमिनको सतहबाट १८.५ किलोमिटर गहिराइमा रहेको बताइएको छ ।

भूकम्पको धक्का केन्द्रबिन्दुबाट ३ सय ५० किलोमिटर टाढा रहेको राजधानी रबातमा पनि महसुस गरिएको थियो । कासाब्लान्का र एसाउइरामा पनि भूकम्पको धक्का महसुस गरिएको थियो । स्थानीय समय अनुसार राति २३ः११ मा भूकम्प गएको हो । सामाजिक सञ्जालमा धेरै अपुष्ट भिडियो शेयर भइरहेका छन् जसमा भूकम्पबाट क्षतिग्रस्त भवन र सडकमा छरिएका भग्नावशेष देखिन्छन् । एक बासिन्दाले समाचार एजेन्सी रोयटर्सलाई माराकेशको पुरानो सहरमा केही भवनहरू ध्वस्त भएको बताए । अर्का एक व्यक्तिले उनीहरूले भूकम्पबाट ‘बलियो कम्पन’ महसुस गरेको र ‘भवनहरू हल्लिरहेको’ देखेको बताएका छन् ।

अब्दुलहक अल–अमरानीले एएफपी समाचार एजेन्सीलाई भने, ‘मानिसहरू स्तब्ध र आतंकमा थिए । बालबालिका रोइरहेका थिए।’ भूकम्पका कारण करिब दश मिनेटसम्म बिजुली र फोन लाइन बन्द भएको थियो ।