सन्दीपका वकिलले जुटाए यस्तो प्रमाण, घटनाले नयाँ मोड लिने संकेत

सन्दीपका वकिलले जुटाए यस्तो प्रमाण, घटनाले नयाँ मोड लिने संकेत

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानविरुद्धको मुद्दामा दुवैतर्फका वकिलहरुले आआफ्नो बहस नोट अदालतलाई बुझाएका छन् । यही बहस नोटका आधारमा वकिलहरुले अबको सुनुवाइमा संक्षिप्त बहस गरेपश्चात मुद्दाको फैसला हुनेछ ।

जिल्ला अदालतले गत कात्तिक २३ गते दुवैतर्फका वकिललाई बहस नोट बुझाउन आदेश गरेको थियो । न्यायाधीश केदारप्रसाद घिमिरेले एक महिनाभित्र (मंसिर २२ सम्म) बहस नोट बुझाउन आदेश दिएका थिए । धेरै कानून व्यवसायीहरुले नाम लेखाएको मुद्दामा बहसलाई बरालिन नदिन र चाँडो फैसला गर्न बहस नोट माग्ने प्रचलन छ ।

अदालको आदेशअनुसार जाहेरीकर्ता गौशला २६ को तर्फबाट सरकारी वकिलले छोटो बहस नोट बुझाएका छन् । सन्दीपका वकिलहरुले बुझाएको बहस नोट भने ४० पेज लामो रहेको स्रोतले बतायो ।

अदालत स्रोतका अनुसार दुवै पक्षको बहस नोटमा गौशला २६ को उमेरलाई सर्वाधिक महत्व दिइएको छ । सरकारी पक्षले सन्दीपसँग भेट हुँदा गौशाला २६ नाबालिग रहेको दाबी गरेको छ भने सन्दीप पक्षले १८ वर्ष कटिसकेको दाबी गरेको छ । बादी पक्षको तुलनामा सन्दीप पक्षका वकिलका कागजातहरु अकाट्य र विश्वसनीय देखिएको अदालत स्रोतले बताएको छ ।

सन्दीपका वकिलहरुले गौशाला २६ का ११ वटा दस्तावेज बहस नोटमा राखेका छन्, जसले उनी नाबालिग नरहेको प्रमाणित हुन्छ । गौशाला जन्मेको अस्पतालले दिएको प्रमाणपत्र र उनको पहिलो जन्मदर्ता सबैभन्दा बलिया प्रमाण हुन् । दुवै दस्तावेजमा गौशालाको जन्ममिति २०६१ साल उल्लेख छ । अस्पतालले दिएको बर्थ सर्टिफिकेटभन्दा एक महिना उमेर फरक पारेर गौशालाले पहिलो जन्मदर्ता निकालेकी छन् । अस्पतालको कागजमा उनको जन्ममिति २०६१–०२–१८ र पहिलो जन्मदर्तामा उनको जन्ममिति २०६१–०३–१८ उल्लेख छ । गौशालाको बसाइसराइ र विद्यालयका प्रारम्भिक डकुमेन्टमा २०६१-०३-१८ नै उल्लेख छ ।

गौशालाले पछि बनाएका कागजातहरुमा चाहिँ उमेर एक वर्ष घटाएकी छन् । उनले केही समयअघि मात्र निकालेको दोस्रो जन्मदर्तामा जन्ममिति २०६२–०३–१८ उल्लेख छ । यो जन्मदर्ता वादी पक्षका वकिलहरुले अदालतमा पेश गरेका छन् । यही जन्मदर्ताका आधारमा बनाइएको नागरिकता पनि उनीहरुले बहस नोटसँग समावेश गरेका छन् ।

तर, उनीहरुको पोल कहाँनेर खुलेको छ भने दोस्रो जन्मदर्तामा पनि पहिलो जन्मदर्ताकै रजिस्ट्रेसन नम्बर उल्लेख छ । यस्तोमा अदालतले सबैभन्दा पहिले बनाएको जन्मदर्तालाई आधिकारिक मान्छ । दोस्रो जन्मदर्तामा उमेर सच्याइएको र त्यसै आधारमा नागरिकता बनेकाले दुवै डकुमेन्ट ‘गलत’ ठहरिन सक्ने अदालत स्रोत बताउँछ । गौशालाले दोस्रो जन्मदर्ता र नागरिकता सन्दीपसँग भेट हुनुभन्दा केही अगाडि मात्र निकालेकी हुन् ।

जन्मदर्ताको विषयलाई सम्वन्धित वडा कार्यालयले पनि स्पष्ट बनाइसकेको छ । अदालतबाट माग भएअनुसार वडा सचिवले अदालतलाई चिठी लेख्दै आधिकारिक जन्ममिति २०६१–०३-१८ नै रहेको प्रमाणित गरिदिएका हुन् । यसले गौशालाको उमेर सन्दीपसँग भेट हुँदाको बखत १८ वर्ष नाघिसकेको ठहरिन्छ ।

सन्दीप पक्षले पेश गरेको अर्को बलियो प्रमाण भनेको एउटा च्याटको स्क्रिनसट पनि हो । उनले एक जना केटा साथीसँग च्याट गर्ने क्रममा आफ्नो वास्तविक उमेर आफैंले खोलेकी थिइन् । स्रोतका अनुसार उनीहरुबीच ज्योतिषलाई भविष्य हेराउने विषयमा कुराकानी भएको थियो । उक्त स्क्रिनसटमा केटा साथीले गौशाला २६ सँग उनको जन्ममिति सोधेका छन् । गौशालाले २०६१–०२–१८ लेखेकी छन् । उनले लेखेको यो जन्ममिति वीरगञ्जको अस्पतालले दिएको बर्थ सर्टिफिकेटसँग मेल खान्छ । यो च्याटको स्क्रिनसट पनि सन्दीपका वकिलले बहस नोटसँगै समावेश गरेका छन् ।