रानीपोखरी परिसरमा जाल्सानको साकुरा वृक्षारोपण

रानीपोखरी परिसरमा जाल्सानको साकुरा वृक्षारोपण

काठमाडौँ । जापानीज भाषा तथा शिक्षा परामर्श व्यवसायीहरूको छाता संस्था जापानीज ल्याङ्ग्वेज स्कुल एसोसिएसन अफ नेपाल (जाल्सान)ले रानीपोखरी परिसरमा साकुरा वृक्षारोपण गरेको छ ।

जापानको राष्ट्रिय फुल साकुराको सौन्दर्य, महत्त्व र वातावरणमा पार्ने प्रभावलाई नेपालीहरूमाझ फैलाउने उद्देश्यले काठमाडौँ महानगरपालिकासँगको समन्वयमा आज रानीपोखरी परिसरमा ३३ बोट साकुरा वृक्षारोपण गरिएको जाल्सानले जनाएको छ ।

साकुरा वृक्षारोपण कार्यक्रममा काठमाडौँ महानगरपालिका, वातावरण विभाग उद्यान तथा हरियाली प्रवर्द्धन आयोजना सहायक प्रमुख दामोदर लामा र वडा नं २७, २८, १२ र ३० का वडाध्यक्षहरू क्रमशः योगेश कुमार खड्की, भाईराम खड्की, बालकृष्ण महर्जन र दलबहादुर कार्कीको सहभागिता रहेको थियो ।

त्यस्तै उक्त कार्यक्रममा नाकामिति मिकियोलगायत जाल्सानका पदाधिकारी र कार्यसमिति सदस्य तथा संस्थासँग आवद्ध सदस्यहरुको पनि उल्लेख्य सहभागिता रहेको थियो ।

नेपाल र जापानबिच रहँदै आएको मैत्री सम्बन्धलाई अझै प्रगाढ बनाउने उद्देश्यले नेपालको विभिन्न ठाउँमा जापानीज संस्कृति ‘हानामी’लाई नेपालमा पनि फैलाउने र साकुरा पार्क बनाउने उद्देश्यले साकुरा रोप्दै आएको जाल्सानका अध्यक्ष रमेश देवकोटाले बताए ।

‘हामीले वर्षैपिच्छे काठमाडौँका विभिन्न स्थानमा साकुराको विरुवा रोप्दै आएका छौं,’ उनले भने, ‘सामाजिक उत्तरदायित्व अन्तर्गत सहरको सौन्दर्य र वातावरणमा यसले ठुलो योगदान पुर्‍याउँछ भनेरै काठमाडौँ महानगरपालिकासँगको समन्वयमा रानीपोखरी परिसरमा साकुरा रोपेका हौं ।’ यसअघि कतिपय स्थानमा रोपेका साकुरा फुल्न थालिसकेको भन्दै उनले जाल्सानबाट समयसमयमा साकुराको हेरचाह तथा रेखदेख हुँदै आएको पनि जानकारी दिए ।

जापानीज भाषा प्रवर्द्धनको लागि पनि विभिन्न कार्यक्रम गर्दै आइरहेको जाल्सानले यही माघ महिना भित्रै जापनिज ल्याङ्वेज स्पीच कन्टेस्ट पनि आयोजना गर्ने जनाएको छ ।