अख्तियार कार्यालय पुगेर मन्त्री बस्नेतले दिए बयान

अख्तियार कार्यालय पुगेर मन्त्री बस्नेतले दिए बयान

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेर बयान दिएका छन् । नेपाल दुरसञ्चार प्राधिकरणको टेरामक्स प्रणाली खरिद अनियमिततामा जोडिएका बस्नेतले मंगलबार अपराह्न अख्तियार कार्यालय टंगाल पुगेर बयान दिएका हुन् ।

‘कार्यालय समय सकिएपछि आउनुभएको थियो, रातिसम्म बसेर बयान दिएर जानुभयो’, अख्तियार उच्च स्रोतले भन्यो, ‘पटकपटक बोलाउदासमेत बयान दिन अस्वीकार गरेपछि असहयोग गरेमा सुनिल पौडेल र विकल पौडलको प्रक्रिया अपनाउनुपर्ने हुनसक्छ भनेर उहाँलाई चेतावनी दिइएको थियो, त्यसपछि बयानका लागि आउनुभएको हो ।’

गैरकानुनी सम्पत्ति आर्जनको आरोपमा अख्तियारले हालै नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेललाई पक्राउ गरेको थियो ।

बहालवाला मन्त्रीको बयानबारे अख्तियारका पदाधिकारीहरु औपचारिक प्रतिक्रिया दिन चाहदैनन् । अख्तियारका प्रवक्ता नरहरि घिमिरेले भने, ‘अघिसम्म म अफिसमा थिए, यहाँ त को बयान दिन आयो, को अरु कामले आयो, केही पनि थाहा हुँदैन । सबै काम गोप्य हुन्छ ।’

स्वास्थ्यमन्त्री बस्नेत ०७४ सालमा सञ्चारमन्त्री हुँदा नेपाल दूरसञ्चार प्राधिकरणको ‘टेरामक्स प्रणाली’ खरिद सम्बन्धी विवादमा मुछिएका थिए । कर्मचारी तहबाट प्रस्ताव नै नआएको अवस्थामा बार्षिक कार्यक्रम स्वीकृतिका लागि आएको फाइलमा मन्त्री बस्नेतले ‘टेरामक्स’ प्रणाली स्थापना गर्ने निर्णय घुसाएका थिए ।

नेपाल दूरसञ्चार प्राधिकरण सम्वद्ध स्रोतका अनुसार, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झा टेरामक्स प्रणाली स्थापनाका लागि स्वार्थ समूहको प्रभावमा परिसकेको अवस्थामा मन्त्री बस्नेतले त्यसलाई अनुकुल हुने नीतिगत निर्णय गरेका थिए ।