कोशी प्रदेश : हिक्मत कार्की मुख्यमन्त्री, केदार कार्की सर्वोच्चमा

कोशी प्रदेश : हिक्मत कार्की मुख्यमन्त्री, केदार कार्की सर्वोच्चमा

काठमाडौँ ।कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन् ।  प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई ५२ जना सांसदको हस्ताक्षर सनाखत भएसँगै मुख्यमन्त्रीमा नियुक्त गर्ने निर्णय गरेका हुन् ।

यता केदार कार्कीले सरकार गठनका लागि  प्रदेश प्रमुखले गरेको आह्वानविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गर्न पुगेका छन्। नयाँ सरकार गठनका लागि भएको आह्वान असंवैधानिक भएको भन्दै कार्की सर्वोच्चमा रिट दर्ताका लागि पुगेका हुन्। 

प्रदेश प्रमुखले संविधानको धारा १६८ को ५ अनुसार नयाँ सरकार गठन आह्वान गरेका थिए। त्यसपछि लगत्तै कार्की रिट दर्ता गराउन काठमाडौँ आएका हुन्। 

कांग्रेस सांसद केदार कार्की २०८० असोज २७ गते एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। पछि माओवादीले पनि उनलाई विश्वासको मत दिएको थियो। तर गत फागुन २१ गते केन्द्रको सत्ता समीकरण परिवर्तन भएपछि प्रदेशमा पनि त्यसैअनुकूलका समीकरण बन्न थालेका हुन्। 

२०८० चैत २६ गते एमाले र माओवादीका ५२ जना सदस्यले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएका थिए।

कोसी प्रदेश सभा सचिवालयले २०८१ वैशाख १० गते प्रदेश सभाबाट बहुमतले संकल्प प्रस्ताव पारित गरेको र वैशाख २६ गतेको पत्रमार्फत संवैधानिक व्यवस्थाबमोजिम समर्थन फिर्ता लिएको ३० दिनभित्र प्रदेश सभाबाट मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्नेसम्बन्धी कुनै प्रस्ताव दर्ता हुन नआएको जानकारी प्राप्त भएको जनाउँदै प्रदेश प्रमुख खापुङले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन्।