बाल मन्दिर जग्गा प्रकरणः २० जनाविरूद्ध पक्राउ पुर्जी जारी

बाल मन्दिर जग्गा प्रकरणः २० जनाविरूद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ  काठमाडौँको नक्सालस्थित बाल मन्दिरको जग्गा प्रकरणमा बाल संगठनका पूर्वपदाधिकारी लगायतविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।  संगठनका पूर्वपदाधिकारीदेखि सो जग्गामा व्यापारिक गतिविधि सञ्चालन गर्ने घरानाका सदस्य समेतका नाममा पक्राउ पुर्जी जारी भएको हो।

अदालतले २० जनाविरूद्ध पक्राउ अनुमति दिएको सिआइबी प्रवक्ता एसपी होविन्द्र बोगटीले बताएका छन्। सिआइबीमा बिहीबार बाल संगठनको जग्गा विवादमा संलग्न व्यक्तिहरूविरूद्ध जाहेरी परेको थियो। 

यसबारे सिआइबीले केही समयअघि देखि नै अनुसन्धान थालेको थियो।  नेपाल बाल संगठनलाई हानी नोक्सानी पुर्‍याउने उद्देश्यले २०४९ देखि २०७२ सालसम्म पटक(पटक न्यून रकममा सम्झौता गरेको उजुरी आएको थियो। २०८९ सालमा सकिने सम्झौता पनि बद्नियत रुपमा म्याद समाप्त नभई नवीकरण गरेको भन्ने आरोप छ।

नक्सालमा रहेको करिब २९ रोपनी जग्गा वार्षिक १ करोड ९ लाख रुपैयाँ तिर्ने गरी (पछिल्लो सम्झौताअनुसार) लिजमा दिइएको थियो। लिजमा लिने जोशी परिवार र विशाल ग्रुप रहेको गृह मन्त्रालयले जनाएको छ।

अनाथ र सहाराहीन बालबालिकाको संरक्षणका गर्दै आएको संगठनको जग्गा लिज सम्झौताका नाममा अनन्तकालसम्म व्यापारीलाई सुम्पने कार्य गरेको भन्दै जाहेरी परेको थियो।