कोशीका  मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लिए शपथ

कोशीका  मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लिए शपथ

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुखको कार्यालयमा बिहीबार कोशी प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री कार्की र अन्य दुई जना मन्त्रीलाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन्।

मन्त्री हुनेमा नेकपा एमालेका रामबहादुर राना मगर र नेकपा माओवादी केन्द्रका गणेश उप्रेती रहेका छन्। नवनियुक्त मन्त्रीहरूको जिम्मेवारी भने तोकिएको छैन। नेकपा माओवादी केन्द्र र एमालेका ५२ प्रदेशसभा सदस्यको समर्थनमा एमाले संसदीय दलका नेता कार्की आजै मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।

कार्कीलाई संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री पदमा नियुक्त गर्न प्रदेशसभाका ५२ सदस्यको हस्ताक्षरसहित दाबी भएको थियो। सनाखतपछि उनलाई प्रदेश प्रमुख खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। प्रदेश प्रमुख परशुराम खापुङले शुक्रबार साँझ ५ बजेसम्मको समय दिएर मुख्यमन्त्रीमा दाबी पेस गर्न बुधबार राति आह्वान गरेका थिए। 

माओवादी केन्द्र र एमालेका ५२ सांसदले सरकारलाई दिएको समर्थन फिर्ता गरेको ३० दिन पूरा भएको, मुख्यमन्त्रीले विश्वासको मत नलिएको प्रदेशसभाको जानकारीपत्र समेतका आधारमा नयाँ सरकार गठनको आह्वान गरिएको प्रदेश प्रमुख कार्यालयको सूचनामा उल्लेख छ।

एमाले र माओवादीले सरकारको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले विश्वासको मत पनि लिने र राजीनामा पनि नदिने अडान राख्दै आएका थिए। त्यसलाई चिर्न दुई दलले समावेदनमार्फत प्रदेशसभाको विषेश अधिवेशन आह्वान गराएर समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिन मुख्यमन्त्रीलाई निर्देशन दिने संकल्प प्रस्ताव वैशाख ७ गते पारित गराएका थिए।

मुख्यमन्त्री कार्कीले भने संकल्प प्रस्ताव बाध्यकारी नभएको भन्दै विश्वासको मत लिने प्रस्ताव नै प्रदेशसभामा राखेनन्। प्रदेशसभा सचिवालयले संकल्प प्रस्तावले गरेको निर्देशनअनुसार मुख्यमन्त्रीलाई त्यसको जानकारी गराएको भएपनि विश्वासको मत लिने प्रस्ताव नआएको पत्र प्रदेश प्रमुखको कार्यालयले पठाएपछि नयाँ सरकार आह्वानको ढोका खुलेको थियो।

मुख्यमन्त्रीले विश्वासको मत नलिएको प्रदेशसभा सचिवालयको सो पत्र तथा प्रदेशसभामा ५२ सांसदको प्रतिनिधित्व गर्ने दुई दलले नयाँ सरकार गठन गर्न गरेको माग सम्बन्धमा प्रदेश प्रमुख खापुङले महान्यायधीवक्ता डा। दिनमणि पोखरेलको रायअनुसार सरकार गठनको आह्वान गरेका हुन्।

जसअनुरूप एमालेका कार्की नेतृत्वमा नयाँ सरकार गठन भएको हो। कार्की यसअघि दुईपटक मुख्यमन्त्री भइसकेका छन्। २४ पुस २०७९ पहिलो पटक माओवादी केन्द्र, जसपा र राप्रपाको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले केन्द्रमा सत्ता समीकरण फेरिएपछि १४ असार २०८० मा राजीनामा दिएका थिए। सर्वोच्च अदालतको परादेशपछि २२ भदौ २०८० मा ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री बनेका कार्कीले २० असोजमा पुनः राजीनामा दिएका थिए।