पुस १० देखि चितवनको सौराहामा हात्ती महोत्सव हुने

पुस १० देखि चितवनको सौराहामा हात्ती महोत्सव हुने

चितवन : चितवनको पर्यटकीय क्षेत्र सौराहामा अङ्ग्रेजी नयाँ वर्षलाई स्वागत गर्न आगामी पुस १० गतेदेखि हात्ती महोत्सव गरिने भएको छ ।

भ्रमण वर्ष सन् २०२० लाई विशेष रुपमा महोत्सवबाटै स्वागत गरिँदैछ । उक्त महोत्सब छ दिनसम्म सञ्चालन हुने छ ।यो महोत्सव १६औँ संस्करण हो । महोत्सवको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

महोत्सवमा हात्ती फुटबल, हात्तीपोलो, हात्ती फास्टवाक, हात्ती सुन्दरी प्रतियोगिता, हात्तीको वनभोजसँगै हात्तीका गतिविधिसँग सम्बन्धित विभिन्न खेल हुने महोत्सवको आयोजक संस्था क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले जानकारी दिए।

सौराहाको बाघमारा चौरमा हुने महोत्सवमा ५० कक्ष रहनेछन् । ती कक्षमा पर्यटकका लागि लक्षित विभिन्न प्रकारका खानासँगै हस्तकलाका सामग्री बिक्री गरिनेछन् । महोत्सवको समापनसँगै विशेष कार्यक्रमको आयोजना गरी भ्रमण वर्षलाई स्वागत गर्ने तयारी गरिएको उनले बताए ।

हरेक वर्ष अङ्ग्रेजी नयाँ वर्षलाई स्वागत गर्दै महोत्सव गर्ने गरिन्छ । नयाँ वर्षमा विदेशी पर्यटक आफ्नै देशमा रमाउने हुँदा उनीहरुको सङ्ख्या कम हुने हुदा नेपाली पर्यटक धेरै भित्र्याउन महोत्सव गरिने भएको हो ।