आगामी सातादेखि दैनिक तीन कार्य समयमा अनुमतिपत्र छापिने

आगामी सातादेखि दैनिक तीन कार्य समयमा अनुमतिपत्र छापिने

काठमाण्डौ : आगामी सातादेखि दैनिक तीन कार्य समयमा अनुमतिपत्र छापिने भएको छ । ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइमा रहेको ढिलाइ हटाउन ‘मास प्रिन्टर’मार्फत दैनिक धेरै घण्टा छापेर अहिले रहेको अभाव हटाउने योजना बनाइएको हो ।

केही दिनदेखि ‘मास प्रिन्टर’ मार्फत छपाइ शुरु गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । अहिले दिनमा एक कार्य समयमा मात्रै छपाइ भइरहेको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए ।

उनका अनुसार अहिले विभागका सात जना कर्मचारीले उपकरण सञ्चालनको तालीमसमेत लिइरहेका छन् । उनीहरुले तालीम सकेसँगै उपकरण पूर्णरुपमा चलाउन लागिएको बताएक छन् । मास प्रिन्टरले दैनिक साढे सात हजारसम्म चालक अनुमतिपत्र छाप्ने बताइएको छ । ‘मास प्रिन्टर’ सँगै विभागमा रहेका पुरानो छपाइ उपकरण ९प्रिन्टर० पनि प्रयोगमा आउने उनको भनाइ छ । अहिले पनि एक कार्य समयमा छाप्दा दैनिक दुई हजार ५०० कार्ड छापिरहेको छ ।

देशभरका यातायात व्यवस्था कार्यालयबाट आएका आवेदनका आधारमा विभागले झण्डै आठ लाख ‘स्मार्ट’ चालक अनुमतिपत्र छाप्न बाँकी रहेको छ । तीन कार्य समयमा चलाउन पनि विभागसँग पर्याप्त जनशक्ति रहेको उनले बताए ।