कसरी भरिँदै छ रानीपोखरीमा पानी ?

कसरी भरिँदै छ रानीपोखरीमा पानी ?

काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले रानीपोखरीमा पानी जम्मा गर्न प्राकृतिक हिसाबले सम्भव सबै उपाय प्रयोग गरिने बताएका छन् ।

प्राधिकरण, पुरातत्व विभाग, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयका अधिकारी, विज्ञ, अभियानकर्मी र स्थानीयवासीबीच आज भएको अन्तरक्रियामा उनले रानीपोखरीमा आकाशे पानी सङ्कलनलाई पहिलो प्राथमिकता दिइएको सुनाए ।
 
रानीपोखरीको पिँध र वरिपरिको पर्खाल पुनःनिर्माण सम्पन्न भएपछि आकाशे पानी जम्मा हुन थालेको छ । दरबार हाइस्कूल, त्रिचन्द्र कलेजलगायत क्षेत्रबाट पानी हार्भेष्टिङका लागि काम जारी रहेको प्राधिकरणले जनाएको छ ।  
  
विकल्पका रुपमा मात्र टुँडिखेल क्षेत्रमा रहेका इनारको पानी, डिप बोरिङ र मेलम्चीको पानी रानीपोखरीमा हालिनेछ ।

कार्यक्रममा पूर्वसचिव एवं जलस्रोत विज्ञ सुमन शर्माले रानीपोखरी वरिपरिका विभिन्न सार्वजनिक भवनको छतको पानी सङ्कलनलाई प्राथमिकता दिँदै विकल्पमा मेलम्चीको पानी पनि राख्न सुझाव दिए ।

डिप बोरिङको पानीलाई अन्तिम विकल्पका रुपमा राख्न सकिने उनले बताए ।
  
लिमिटेडको आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना निर्देशक भोजविक्रम थापाले उपत्यकामा पानी वितरण गर्ने पाइप प्रणालीको परीक्षण गर्नेक्रममा मेलम्चीको पानी प्रयोग गर्न सकिने बतए ।

सम्पदाविद् सुदर्शनराज तिवारीले आकाशे तथा रानीपोखरी वरिपरिको सतह एवं खेर गएको पानी प्रशोधन गरी पानी प्रयोग गर्न सुझाव दिए ।

डिप ट्युबवेल प्रयोग नगर्न पनि उनले सुझाव दिए । संरक्षण अभियानकर्मी आलोकसिद्धि तुलाधरले परम्परागत इञ्जिनीयरिङलाई अवलम्बन गर्न आग्रह गर्दै डिप बोरिङको सट्टा प्राकृतिक उपाय अपनाउँदै पानी भर्न आग्रह गरे ।

स्थानीयवासी सुशील श्रेष्ठले पोखरी सफा गर्न दुई वटा निकास राख्न सुझाव दिए ।

कार्यक्रममा अर्का स्थानीय गणपतिलाल श्रेष्ठले केही समय लागे पनि सम्भव भएसम्मका परम्परागत विधि ब्युँताउने उपायतिर लाग्न आग्रह गरेका थिए ।