प्रधानसेनापति आमन्त्रित अन्तर्राष्ट्रिय महिला फुटबल हुने

प्रधानसेनापति आमन्त्रित अन्तर्राष्ट्रिय महिला फुटबल हुने

काठमाण्डौ : नेपाली सेनाले प्रधानसेनापति आमन्त्रित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ । यही मङ्सिर २९ गतेदेखि सेनाले उक्त प्रतियोगिताको सातौँ संस्करण काठमाडौँमा आयोजना गर्न लागेको हो ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)सँगको सहकार्यमा सञ्चालन हुने सोप्रतियोगितामा तीन विभागीय, दुई विदेशी तथा तीनवटा प्रदेशको फुटबल टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब, प्रदेश नं १, प्रदेश नं २, प्रदेश नं ५ तथा भारतको सिक्किम र भूटानको फुटबल टोलीले सहभागिता जनाउने महासेनानी शशिकिरण रायमाझीले बिहिबारनेपाली सेनाको मुख्यालय जङ्गीअड्डामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

लिगकम नकआउटका आधारमा सञ्चालन हुने उक्त प्रतियोगिताको विजेताले रु तीन लाख, उपविजेताले रु एक लाख ५० हजार तथा सेमिफाइनल पुग्ने दुई टोलीले रु ५०÷५० हजार पुरस्कार प्राप्त गर्नेछन् । महासेनानी रायमाझीका अनुसार प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एक थान स्कुटर प्रदान गरिनेछ । यस्तै उत्कृष्ट किपर, मिड फिल्डर, डिफेन्डर, फरवार्ड र प्रशिक्षकलाई जनही रु १० हजार प्रदान गरिनेछ ।

सेनाले २०७० सालदेखि उक्त प्रतियोगिता आयोजना गर्दै आएको छ ।खेल सेनाको मुख्यालयभित्र रहेको खेल मैदान तथा ललितपुरको लगनखेलस्थित सेनाको दुईवटा मैदानमा खेलाइनेछ । प्रतियोगितको उद्घाटन खेल मङ्सिर २९ गते त्रिभुवन आर्मी क्लब र प्रदेश नं १ बीच सेनाको मुख्यालयस्थित खेल मैदानमा हुनेछ । प्रतियोगिता आगामी पुस ९ गतेसम्म चल्नेछ ।