नेपालले ओमानलाई दियो १८५ रनको लक्ष्य

नेपालले ओमानलाई दियो १८५ रनको लक्ष्य

काठमाडौँ । टी—२० विश्वकप छनोट क्रिकेट प्रतियोगिताको आइतबार खेलिएको फाइनल खेलमा नेपालले ओमानलाई जितका लागि एक सय ८५ रनको लक्ष्य दिएको छ । टस जिती पहिले ब्याटिङको निणर्य लिएको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर एक सय ८४ रन बनाएको हो । 

नेपालका लागि गुल्सन झाले ५४ रनको योगदान गरे । कप्तान रोहित पौडेलले अविजित ५२ रन बनाएका थिए । उनले ३७ बलमा दुई छक्का र पाँच चौका हिर्काए । त्यसअघि उनले केवल ३६ बलमा अर्धसतक पुरा गरेका हुन् । ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले पनि ३१ रनको योगदान गरे । तेस्रो नम्बरका ब्याट्सम्यान सन्दीप जोराले टोलीको खातामा १० रन थपे । करण केसीले अविजित अविजित २० रन जोडे । उनले ६ बलमा दुई छक्का र एक चौका हिर्काए । ओमानका बलर बिलाल खानले तीन विकेट लिए । अकिब इलियसले पनि दुई विकेट हात पारे । जिसन मक्सुदले एक विकेट लिए । 

नेपालले पहिलो विकेटका रुपमा ओपनर आसिफ शेखलाई गुमाएको थियो । विकेटकिपर ब्याट्सम्यान आसिफ ६ बलमा एक छक्काको मद्दतले ६ रन बनाउँदै आउट भएका थिए । उनलाई ओमानका बलर बिलाल खानले कश्यप प्रजापतीद्वारा क्याच गराएका थिए । २.४ ओभरमा पहिलो विकेट गुमाउँदा नेपालले १५ रन बनाएको थियो । नेपालले दोस्रो विकेटका रुपमा तेस्रो नम्बरका ब्याट्सम्यान सन्दीप जोरालाई गुमाएको थियो । उनी १३ बलमा एक चौकाको मद्दतले १० रन बनाउँदै पेभेलियन फर्किएका थिए । उनलाई ओमानका बलर जिसन मक्सुद बोल्ड गरेका थिए । ६.१ ओभरमा दोस्रो विकेट गुमाउँदा नेपाली टोलीले ४७ रन बनाएको थियो ।

तेस्रो विकेटका रुपमा नेपालले ओपनर कुशल भुर्तेललाई गुमाएको थियो । कुशल भुर्तेल ३१ रन बनाउँदै आउट भएका थिए । उनले २२ बलको सामना गरी दुई छक्का र तीन चौका हिर्काएका थिए । उनलाई ओमानका बलर अकिब इलियसले मेहरान खानद्वारा क्याच गराएका थिए । उनी आउट हुँदा नेपालले ७.१ ओभरमा तीन विकेट गुमाएर ४९ रन बनाएको थियो ।

चौथो विकेटका रुपमा नेपालले कुशल मल्ललाई गुमाएको थियो । उनी नौ बलमा तीन रन बनाउँदै पेभेलियन फर्किएका थिए । उनलाई ओमानका बलर अकिब इलियसले प्रतिक अथावालेलेद्वारा क्याच गराएका थिए ।  उनी आउट हुँदा नेपालले १० ओभरमा चार विकेट गुमाएर ६० रन बनाएको थियो । पाँचौँ विकेटका रुपमा नेपालले गुल्सन झालाई गुमाएको थियो । उनले टोलीका लागि ५४ रनको महत्वपूर्ण योगदान गरेका थिए । उनले २५ बलको सामना गरी चार छक्का र पाँच चौका प्रहार गरेका थिए । त्यसअघि उनले २० बलमा अर्धसतक पुरा गरेका थिए ।  ६० बलमा चौथो विकेट गुमाएको नेपालको स्कोरलाई कप्तान रोहित पौडेल र गुल्सन झाले एक सय ३८ रनको स्थितिमा पु¥याएका थिए । गुल्सनलाई ओमानका बलर बिलाल खानले सकिल अहमदद्वारा क्याच गराएका थिए ।

 छैठौँ विकेटका रुपमा नेपालले बिवेक यादबलाई एक रनको ब्यक्तिगत स्कोरमा गुमाएको थियो । उनलाई ओमानका बलर बिलाल खानले आउट गराएका थिए । बिलालले आफ्नो बलिङमा बिवेकको क्याच आफैले लिएका थिए । बिवेक आउट हुँदा नेपालले १८.२ ओभरमा एक सय ५२ रन बनाएको थियो ।