फिल्ममा भएपनि प्रधानमन्त्री बन्ने ओलीको तयारी

फिल्ममा भएपनि प्रधानमन्त्री बन्ने ओलीको तयारी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं​ पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले चलचित्रमा अभिनय गर्ने भएका छन् । रमित ढुंगानाको नमेटिने घाउ नामक चलचित्रमा उनले अभिनय गर्ने लागेका हुन् ।​​​​

आइतवार काठमाडौंको नयाँ बानेश्वरमा फिल्मको औपचारिक घोषणा कार्यक्रममा ओलीले प्रधानमन्त्रीको भूमिका निर्वाह गर्ने ​जानकारी दिइएको हो । 

निर्माण टोलीका अनुसार  नमेटिने घाउ चलचित्र राजनीतिक विषयवस्तुमा केन्द्रित रहने छ । ओलीले निर्माता रमित ढुंगानालगायतको टोलीले निर्माण गर्न लागेको ‘नमेटिने घाउ’ को शुभमुहूर्त गरे । रमित ढुंगानाको लगानी र निर्देशनमा बन्ने फिल्ममा एसिडपीडित मुस्कान खातुनको जीवनीमा आधारित हुनेछ। यस फिल्ममा मुस्कानसहित सुरवीर पण्डित, सिम्रन खड्कालगायतले अभिनय गर्नेछन्। 

ओली प्रधानमन्त्री भएको बेला एसिड आक्रमणकारीहरूलाई कडा सजाय गर्ने कानून ल्याएको र पीडितहरूलाई राहत र क्षतिपूर्तिको व्यवस्था गरेकाले ओलीको हातबाट चलचित्रको शुभमुहूर्त गर्न लागिएको निर्माण टीमले जनाएको छ । केही समयअघि मात्रै ओलीले एमाले केन्द्रीय कार्यालयमा देशभरका एसिड आक्रमणबाट पीडितहरूलाई भेला गरेर विशेष कार्यक्रम गरेका थिए ।