सभामुखले बोलाए शीर्ष नेताहरूको बैठक

सभामुखले बोलाए शीर्ष नेताहरूको बैठक

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताहरूसित छलफल गर्ने भएका छन् । मंगलबार बिहान साढे ११ बजे सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा उक्त छलफल गर्न लागिएको सभामुखको सचिवालयले जानकारी गराएको छ ।

यही वैशाख २८ गतेका निम्ति संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरिएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आफूहरूका माग पूरा नभए संसद् बैठक चल्न नदिने जनाएको छ ।

नियमित रूपमा बैठक सञ्चालनका विषयमा सहमति जुटाउने प्रयासस्वरूप सभामुखले शीर्ष नेताहरूलाई बोलाएका हुन् । छलफलमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का अध्यक्ष राजेन्द्र लिङदेनलाई बोलाइएको छ ।

सहकारीको रकम अपचलन प्रकरणमा रास्वपाका सभापति समेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय समितिको माग गर्दै कांग्रेसले अघिल्लो अधिवेशनको अन्त्यतिर निरन्तर बैठक अवरुद्ध गरेको थियो । कांग्रेसको अवरोधले सदनको कारबाही प्रभावित भएपछि सभामुखले शीर्ष नेताहरूको बैठक बोलाएको उनको सचिवालयले जनाएको छ ।

गएको अधिवेशनमा सदनको अवरोध खुलाउन सभामुखले दुईपटक शीर्ष नेताहरूसित छलफल गरेका थिए । तर, सहमतिको प्रयास सार्थक हुन सकेको थिएन । उक्त विषयलाई सहमतिमा टुंग्याउन दलका मुख्य सचेतक, प्रमुख सचेतक र सचेतकसँग र कार्यव्यवस्थामा समेत अलग–अलग छलफल गरिएको थियो ।