रोनाल्डोले खेले करियरको १२ सयौँ खेल

रोनाल्डोले खेले करियरको १२ सयौँ खेल

काठमाडौं । पोर्चुगल तथा अल नासेरका फरवार्ड क्रिस्टियानो रोनाल्डोले आफ्नो करियरको १२ सयौँ खेल खेलेका छन् । अल नासेरका लागि अल–रियादविरूद्ध खेलेको खेलमा उनले एक गोल र एक असिस्ट गरे । साउदी प्रो लिग अन्तर्गत अल–रियादलाई ४–१ ले हराउँदा साडियो मानेको पासमा गोल गरेका ३८ वर्षीय रोनाल्डोले ओटाभियोका लागि असिस्ट पनि गरेका थिए ।

रोनाल्डोले आफ्नो यो उपलब्धिसम्म आइपुग्दा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् र आफ्नो काम अझै नसकिएको बताएका छन् । पोर्चुगिज फरवार्ड रोनाल्डोले यस सिजन साउदी प्रो लिगमा १५ खेलमा १६ गोल गरेका छन् र सर्वाधिक गोल गर्नेमा शीर्ष स्थानमा छन् । इंग्ल्याण्डका पूर्व गोलकिपर पिटर सिल्टजले व्यावसायिक खेल जोनमा १ हजार ३८७ खेल खेलेका छन् । रोनाल्डोले यसअघि २०२० फेब्रुअरीमा आफ्नो एक हजारौँ खेल खेल्दा पनि युभेन्ट्सका लागि गोल गरेका थिए । साउदी प्रो लिगले सामाजिक सञ्जालमा रोनाल्डोले १२०० खेल खेलेको पुष्टी गर्दै पोष्ट गरेको छ । यस्तै रोनाल्डोले पनि इन्स्टाग्राममा पोष्ट राख्दै सबैलाई धन्यवाद दिएका छन्, ‘अर्को ३ अंक । मेरो १२०० खेल पु¥याउन मद्दत गर्ने सबै टिममेटहरुलाई धन्यवाद ।’

दुई सय अन्तर्राष्ट्रिय खेल खेल्ने पनि पहिलो खेलाडी
यस्तै रोनाल्डो जुनमा दुई सय अन्तर्राष्ट्रिय खेल खेल्ने पनि पहिलो खेलाडी बनेका थिए । उनले पोर्चुगलका लागि कीर्तिमानी १२८ गोल गरेका छन् । यस्तै युरोपियन च्याम्पियन्स लिगमा सर्वाधिक १८३ खेल खेलेका छन् ।रोनाल्डोले अहिलेसम्म पाँच फरक क्लबका लागि खेलेका छन् । जसमा उनले पोर्चुगलको स्पोर्टिङका लागि ३१ खेल खेलेका छन् । यस्तै इंग्लयाण्डको म्यानचेष्टर युनाइटेडको लागि ३४६, स्पेनको रियल मड्रिडका लागि ४३८, इटलीको युभेन्ट्सका लागि १३४ र अहिले खेलिरहेको सायदी क्लब अल नासेरका लागि ४६ खेल खेलेका छन् ।

पोर्चुगलको राष्ट्रिय टिमबाट उनले २०५ खेल खेलिसकेका छन् ।