यसपाली एनआरएनको उपाध्यक्ष बन्ने हो !

यसपाली एनआरएनको उपाध्यक्ष बन्ने हो !
ऋषिश्वर थपलिया

मित्र म यसपालि एनआरएनको भाईटलमा उठ्न खोजेको सहयोग गर्न पर्छ है । यह हो र ? अनि तिमि त भुटानी होईन र ? छोड न यार कागज बनाउन के के बनियो । तिमि पनि । अनि एनआरएनमा जित्नै वातावरण छ त ? पैसाको कुरा हो खर्च गरेपछि सबै मिलिहाल्छ नि नेपालका ठूला नेता देखि यताका सम्म । 

आज भन्दा केही बर्ष अगाडी नेपाल आउँदा एक साँझ बसौ न धेरै गफ गर्नु छ भन्यो र हामी बसेका थियौँ । अनि कृष्णले आफ्ना कुराहरु भनेका थिए । कृष्ण त्यो बेलामा अस्कल क्याम्पस काठमाडौंमा बि.एस.सी पढ्दै थियो । सामाखुशी खेतको फाँटमा एउटा नुवाकोट तिरका दाईको घर थियो । महिनाको ५०० घर भाडा । चार वटा कोठामा चार विद्यार्थी पाँच–पाँच सय तिरेर बस्थे । ति मध्य एक जना आइएससीपछि  नुवाकोटको प्रस्तावित मा.बि को हेडमास्टर थिए । बिज्ञानको मास्टर राम्रो पठाउने भएर प्रभावित पारेका रहेछन । अभिभावकहरु आफ्ना बच्चालाई टेष्टपछि एस.एल.सी तयारीको लागि ट्यूसन पढाई दिन पर्यो भनि खोज्दै आए । बि.एस.सी पढ्ने सबै तिक्ष्ण विद्यार्थीहरु । एउटा साईन्स  एउटाले म्याथ, अर्कोले ऐच्छिक म्याथ अर्कोले अँग्रेजी पढाउने सल्लाह भयो  । ४ कोठा मध्य एउटा किचेन, दुईटामा दुई–दुई जना सुत्ने एउटामा ट्यूसन पढाउने व्यवस्था गरियो । विद्यार्र्थी लाईन लागे । एउटा बिषयको १ सय ५० फिस । चारै जना व्यस्त अनि राम्रो आम्दानी । एउटा केटी विद्यार्र्थी अरुले पढाएको मन नपराउने श्याम सरले पढाउन पर्छ भन्ने । पछि थाहा भो पढाई होईन मान्छे मन परेको रहेछ १० पाना लामो प्रेमपत्र हात परेपछि ।  एस.एल.सी सुरु भो ट्यूसन सेन्टरमा विद्यार्थी घटे । एक दिन श्यामले प्रस्ताव सुनाए । म त जर्मनी जाने भए । पासपोर्ट अनि ७५,००० । हजार भए पुग्छ रे ! उता गए पछि कम्तिमा महिनाको लाख कमाइन्छ रे । तिमीहरु के गर्छौ ? कृष्ण पनि जान खोज्ने तर ७५००० कहाँबाट ल्याउनु ? बुबासँग त पैसा छैन हजुरबुबालाई भन्छु सोच्छ । घर गएर हजुरबुबालाई भन्छ । तेरो पढाई राम्रो छ , उमेर पनि भर्खर एक्काईस कलिलो उमेर विदेशमा के काम गर्न जानु । कृष्ण ले भन्यो म त जसरी पनि राम्रै गर्छु पढ्दै ट्यूसन पढाउदै गरैर पनि राम्रै गर्छु । तर भाई बहिनीहरूको पनि राम्रो हुन पर्यो । भएको घरजग्गा बेच्यो भने पनि ऋृण तिर्न पुग्दैन रे । महिनाको लाख कमाई हुन्छ रे ४,५ बर्ष कमाइयो भने सबैको राम्रो हुन्छ । जाने भए जा न त हजुरबुबाले भन्नुभयो । पैसा ७५, ००० लाग्छ रे । अरु पासपोर्ट बनाउने , लुगा किन्ने पैसा मसँग छ । कलुवा मसँग पनि कहाँ छ र ? हजुरबुबाले भन्नुभयो । हजुरबुबाले माया गरेर कलुवा भन्नुहुन्थ्यो । जा पासपोर्ट चाहि बनानत हजुरबुबाले भन्नुभयो ।

पासपोर्ट बनाउन पनि सजिलो थिएन । कम्तिमा दुई जना अधिकृतको सिफारिस ।   आफ्नै गाऊबाट साँसद जितेका नेतासँग कुरा भयो । सिंहदरवारमा छाप लगाउन पर्छ अर्को साँसदलाई पनि भन्छु दिउसो आउनु । सिंहदरवार छिर्न पनि पास , नेपाली टोपी लगाएर छिर्न पर्ने । त्यहि पनि छिर्यो । दुईटा साँसदले सहि गरिदिए सचिवालयबाट छाप हाने पछि काम सकियो । महाराजगन्ज लगेर दिएपछि पासपोर्ट बन्यो । दिल्ली गएर उड्न पर्ने । जाने दिन आयो । तिजको बेलामा दिदीफुपुहरु जम्मा भएको बेलामा अलि रुवाबासीसहित बिदा भयो । कृष्ण सानैदेखि बाहिर बसेकोले घर छोड्न खासै गाह्रो भएन । भारत जाँदा पैसा लुटिन्छ जोगाउनु भन्ने डर । सेतो कपडा किनेर,त्यसमा मिलाएर पट्याएर पैसा राख्यो अनि सिलाएर पटुका , अनि त्यस माथि पाईन्ट लगाएर सुरक्षित साथ भित्र राख्यो । भैरहवासम्म बसमा गएर पारि पट्टि भारतिय पारवहनको बस काठको सिट चढेर दिल्ली पुग्यो । दिल्लीमा टेम्पु चढेर एजेन्टले बस्ने ब्यबस्था गरेको होटलमा गएर बस्यो । दिल्ली पुगेपछि थाहा भयो जर्मनीको भिसा नचाहिने । टिकट काटेर जान पाउने रहेछ । एजेन्टलाई पैसा किन ख्वाउनु ? ३३ हजारमा टिकट पाइहाल्दो रहेछ । टिकटको लागि १० दिनसम्म कोशिश गर्दा पनि बिना सेटिङ नमिल्ने रहेछ । बाध्य भएर एजेन्टलाई ६० हजार बुझायो ।  चार दिनपछि फ्लाईट हुने गरि टिकट मिलायो । २०० डलर बाटो खर्च दियो , अनि  पासपोर्ट च्यातेर प्लेनको ट्वाईलेटमा फाल्नु , उता पुगेपछि हामि पञ्चायतको कार्यकर्ता बहुदलवालाहरुले नेपाल बस्न दिएनन् ज्यानको खतरा भएकोले ज्यान जोगाउन शरण लिन आएको भनि बयान गर्नु भनेर सिकायो । पासपोर्ट च्यातेन भने त्यहि प्लेनमा फर्काउछ भन्यो । तर प्लेनको काउन्टरबाट ग्रुपकै पासपोर्ट समाएर पाईलट पो जिम्मा लगायो । अनि काउण्टर वालाले हिन्दीमा सामको ईधर वापेस आओगे तूम नेपाली लोग भनेर थर्कायो । प्लेनमा भोग निद्रा हरायो । मनमनै भगवान गुहारेर हे भगवान फर्कनु भन्दा प्लेन क्रयास होस् बिस हजार डलर त बाआमाले पाउनुहुन्छ भन्न थाल्यो । १२ घण्टाको उडानपछि फ्र्याँकफोर्ट एयरपोर्टमा झर्यो । ग्रुपको एघार जनालाई भिन्दै गाडीमा हालेर लग्यो अब फर्काउन लागेको होला भन्ने सोचेर सके आत्महत्या गर्न पाए हुन्थ्यो भन्ने पनि सोच्यो । तर एउटा घरमा लग्यो त्यहाँ त विभिन्न देशका  मान्छेहरु थिए । एउटाले हिन्दीमा भन्यो टेन्सन नहि लेनैका तुमलोग जर्मनी मै रहोगे भन्यो । त्यसपछि मनमनै भगवानलाई कृतज्ञता प्रकट गर्यो । अनि त यस्तो भोग लाग्यो । अनि त्यहाँ रहैका जर्मनहरुले नेपाली बोल्ने दोभासेलाई बोलाएर अलि अलि ईन्टरर्भयू लिए , औठा छाप लिए । खाना मगाए नुहाउने व्यवस्थापन नि गरे। त्यसपछि ठूलो बसमा हालेर ४ घण्टा कुदाइ एउटा ठूलो होटल जस्तो घरमा राखे । 

त्यो घर त शरणार्थी शिविर पो रहेछ । फोटो खिचेर परिचयपत्र बनाएर दिए । पकेट खर्च  कपडा सबै दिए ।  खाना ४ पटक व्यवस्था । अब समस्या भाषाको । अनि विस्तारै शहर घुम्न जाने  , युनिभर्सिटी लाईब्रेरी जाने । चर्चका, बिभिन्न सँघसँस्थाका मान्छेहरु सहयोगको लागि आउने । हामीलाई पो थाहा छ पैसा कमाउन आएको, समस्या बाहना मात्र हो भन्ने । तर उनीहरु यस्तो युवा उमेरमा देश छोड्न परेको छ भनेर माया गर्थे । जर्मनहरु अँग्रेजी बोल्न नचाहाने । सुचना सबै जर्मनमा बाध्य भाषा जान्नेपर्ने । तिन महिना भित्र पत्रिका पढ्ने, टिभीमा समाचार बुझ्ने भयो। बोल्दा चाहि प्रोनाउनसेसन नमिल्ने अलि गाह्रो । अब काम खोज्न थाल्यो । इटालियनको आईसक्रिम पार्लरमा काम पायो । खान  बस्न सबै सुबिधा सहित । काम बिहान आइसक्रिम बनाउने दिउँसो बेच्ने । सरसफाईमा साह्रै ध्यान दिनपर्ने । भित्तामा समेत कुनै दाग देखिन नहुने। खानामा कुनै अखाध्य पदार्थ भेटिन नहुने । फलफूलको आईसक्रिम प्राकृतिक फलफूल नै घोलेर बनाउने । सबैभन्दा बिक्रि हुने भनिला आईसक्रिम । भनिला बोडि जस्तो कोषा भएको भित्र साना कालादाना । बासना नै मिठो । त्यसको आईसक्रिम मिठो । काम सिक्दै गएपछि प्राय ग्राहकहरुसँग सामिप्यता बढ्दै गयो । टिप्स  बिहानको अनि दिउसो तलब लगायत आम्दानी राम्रा े। खर्च छैन । गर्मिमा १० बजे सम्म उज्यालो । बिहान आठ बजे देखि बेलुका बाह्र बजे सम्म ब्यापार । शनिबार आईतबार त १८ घण्टा । वेटर गर्ने क्रममा त्यहाँ हिडेको जति नेपाल आउने बाटो हिडेको भए नेपाल नै हिडेर आईपुगिन्थ्यो होला । बेलुका नुहाएर यसो सुत्यो एलार्म बझिहाल्ने । मतलब मुस्किलले ४ घण्टा सुत्न पाउने त्यो बितेको थाहै नहुने । तर कमाई पनि गर्मिमा त करिब आठ लाख नै हुने टिप्सले ।

सबै पैसा नेपाल पठाउने । साहूले साह्रै माया गर्ने ।  उ पनि सानैमा कामको खोजीमा जर्मन आएको । पहिला बाटो बनाउने कुल्ली काम गरेको । पैसा जम्मा गरेर अनि यो काम गर्न थालेको रहेछ । मिठो आईसक्रिम राम्रो बोली । व्यापार मनग्गे । उसँग चर्चित फेरारी गाडी, दैनिक प्रयोगलाई मर्सिडिज थियो । रोलेक्स घडि ब्राण्डेड कपडा । जर्मनहरुले ईष्र्या गरेर हामीसँग कुरा गर्थे । कृष्ण सँधै महिनै पिच्छे पैसा घर पठाउने । साहुले कृष्ण लाई भन्थ्यो । तेरो पैसा जेसुकै गर । तर तैले तेरो घरको मान्छे बिगारी रहेको छस् । यताबाट पैसा पठाएर उनिहरुलाई काम गर्ने पैसा कमाउने बाटो बन्द गरिस् । यता हाम्रो मा मेरो छोरा त सँगै काम गर्छ । त सँगै तलब पाउने हो तेरो भन्दा आधा । उसले काम पनि आधा गर्ने भएकोले । उ आत्मनिर्भर छ । भोलि आफ्नै पसल गर्छ खान्छ । सबै आत्मनिर्भर भएपछि सम्बन्ध पनि राम्रो हुन्छ । सबैले काम गर्ने  ट्याक्स तिर्ने भएपछि राज्य पनि बलियो हुन्छ । राज्यले बिकास निर्माणको काम गरेपछि विकसित राष्ट्र हुन्छ । त पैसा नपठा । मेहनती छस् । भोलि यहिँ आफ्नै काम गर । यहाँबाट दश किमी टाढा नया घर बन्दैछ। त्यहाँ बस्ति राम्रो छ । त्यहि आईसक्रिम पसल चला म सहयोग गर्छु लगानी गरिदिन्छु । आईतबार बिहान सुनसान हुन्थ्यो । एल्डि भन्ने ठूलो मार्केट । पार्किङ ठूलो । त्यहाँ आईतबार बिहान लगेर गाडी सिकाउथ्यो । कृष्णलाई त्यति माया गर्ने । तर कृष्ण ति सबै कुरा बेवास्ता गरेर घर पैसा पठाईलहन्थ्यो । तलब बुझेको बेलामा साहुको छोरासँग डिस्को जाने , छोरोले साहूलाई फकाएर फेरारीमा कृष्णलाई लिएर लङ ड्राइभ जाने पनि गथ्र्यो । अकस्मात साहूलाई हर्टएट्याक भएर बिहान तिन बजे खबर आयो । साँझ गफगाफ गरि हिसाबकिताब बुझैर गएको साहू बिहान त्यस्तो खबर । पसलबाट घर गयो । डाक्टर, पुलिस,चर्चका मान्छ े। साहूको शरिरलाई बट्टामा हालिराखेको । पाच दिन पछि दाहसंस्कार गर्ने पालो । छोरो इटाली थियो,आयो । बुबाको मुख हेर्दैनस् भनेको हेर्दिन । मेरो बुबाको संस्मरण हाँसेको बोलेको हुन्छ। बट्टामा लडाएको मृत शरिर हेर्यो भने मलाई त्यहि संस्मरण हुन्छ हेर्दिन भन्यो । कृष्णको पनि आधा भाग्य गयो । दुःखको बेलामा छोरा साहूनीले नेपाल फर्कन दिएन । एक बर्ष पछि कृष्ण नेपाल फर्कने नै भयो । दाजुभाई धेरै नै छन् पैसा पनि भईहाल्यो अब नेपालमा केहि गर्न सकिन्छ भनेर ब्यबस्था मिलाएर फर्किएको त पैसो हिसाब किताब त छैन । भाईहरुको पढाईमा पनि पुर्णविराम लागिसकेको । के–के सुन्यो के के । आफू ताक्छ मुढो बन्चरो ताक्छ घुँडो । सँगै पढेका साथीहरु कोहि क्याम्पस पढाउने, कोहि जागिरे । सँगै ट्यूसन सेन्टर चलाउनेहरु स्थापित स्कूलका मालिक । पैसा कमाएर आएको छ शेयर किनेसँगै काम गरूँ भन्ने अफर तर पैसा छैन भन्ने के थाहा ? आफ्नो त नपढाई न पैसा। हल्ला खल्ला मात्र । कृष्ण नेपाल आउने बित्तिकै कृष्ण लाई फर्काउन साहूनी नेपाल आएको पनि हो । कृष्णलाई जान मन थिएन । साहूनीले कागजको लागि बिबाह गरेर लान खोजेको । नेपालको कानुन विबाह गर्नेको उमेर २० बर्ष भन्दा बढि फरक हुन नहुने । कृष्ण ३० साहुनी ५५ । नेपाल मै केहि गर्छु भनेर ऋण गरेर काम सुरू गरेको । देशमा दरबार हत्याकाण्ड , माओवादीको द्वन्द्व सबैले झनै डुबायो । ऋृण माथि ऋृण । निराश फेरि युरोप जाने उपाय खोज्दै जाँदा फेरि एजेन्टले नाम चलेका नेता ,सांसदको पासपोर्टमा फोटो परिवर्तन,त्यो बेलाको भाषा पिसी गरिर युरोप पुर्याई दिए १० लाखमा । पासपोर्ट नेपाल फिर्ता अर्कोको फोटो टाँसेर फेरि १० लाख । त्यसमा साँसदलाई कति हो ? अब फ्रान्समा भुटानी शरणार्थी बन्ने सोच । नेपालमा समस्या थिएन । अब भुटानी शरणार्थी बन्न पर्यो भनेर नया नाम, ठेगाना, राष्ट्र सबै भिन्दै । अब भुटानको भूगोल, नाम, सांस्कृतिक चलन सबै पढ्न पर्ने । त्यहि अनुसार भुटानी शरणार्थि बन्न केश फाईल गर्यो । खर्च गरेर नेपालबाट कागज पत्र मगाएर भुटानी बनियो। त्यहि बिचमा पहिलेको साहुको छोराको लगानीमा पसल गरेर कमाई पनि सुचारु थियो । फ्रान्सले भुटानी शरणार्थीको दर्जा दिएपछि कागज पत्र बन्यो । अब आफ्नै ब्यापार गरेर पैसा पनि भयो । नेपाल आएर बिबाह गरियो । नेता मन्त्रीहरु आउदा ख्वाउने  पाल्ने, उपहार किन्दिनै, भाउजूहरुलाई उपहार पठाउने भएसी सबैले चिन्ने सबैको प्रिय बाबु भईयो । अब पहिचानको लागि पनि एनआरएनको नेता हुनपर्यो । जन्म नेपाल, पहिचान भुटानी फ्रान्समा, कर्मस्थल बेलायत । हिजो समस्यामा हुर्केको आज आर्थिक स्वतन्त्रता । छोराछोरीको राम्रो पढाई । अब सक्किएर आफ्नै काम सुरु गरिसके । अब म नेता नभई के गर्ने त अब जत्तिकै खर्च होस् एनआरएनको नेता बन्ने हो । सहयोग गर है मित्र । यसपाली जसरी पनि एनआरएनको उपाध्यक्ष बन्ने ।

                                                                                                                                                                                         –ऋषिश्वर थपलिया