काठमाडौंमा अत्याधिक चिसो, ५ डिग्री सेल्सियसमा झर्यो तापक्रम

काठमाडौंमा अत्याधिक चिसो, ५ डिग्री सेल्सियसमा झर्यो तापक्रम

काठमाडौं । काठमाडौं उपत्यकामा आज यस वर्षको अहिलेसम्मकै कम तापक्रम मापन भएको छ । आज बिहान पौने आठ बजे काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस मापन भएको छ । यसअघि २७ मंसिरमा काठमाडौंको न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस थियो । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार बिहान जारी गरेको बुलेटिनमा जाडो बढ्ने क्रममा रहेकाले चिसोबाट जोगिन आवश्यक सतर्कता अपनाउन भनेको छ ।

आज बिहान देशका पूर्वी तथा पश्चिम तराईका थोरै स्थानहरुमा र मध्य तराईका एक–दुई स्थानमा हुस्सु लागेको छ । हुस्सु मध्याह्नसम्ममा क्रमिक रुपमा सुधार हुँदै जाने सम्भावना छ । महाशाखाका अनुसार एक किलोमिटर भन्दा कम पारदर्शिता हुँदा कुहिरो र एकदेखि पाँच किलोमिटरसम्म पारदर्शिता हुँदा हुस्सु भनिन्छ ।

आज बिहान पश्चिम तराइ, मध्य तराई र पूर्वी तराईमा हुस्सु लागेको छ । पश्चिम तराई भन्नाले कञ्चनपुर, कैलाली, बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी पश्चिम, नवलपरासी पूर्व जिल्लालाई बुझिन्छ । यसैगरी मध्य तराईमा चितवन, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा तथा पूर्वी तराईमा सिरहा, सप्तरी, सुनसरी, मोरङ र झापा पर्दछन् ।

हुस्सुको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत आंशिक प्रभाव पर्न सक्ने सम्भावना रहेकाले सावधानी अपनाउन महाशाखाले भनेको छ ।